logo
Banner

स्वागत छ

वीर भक्ति पूर्व विद्यार्थी समाज

नबिर्षौ वीरभक्तिलाई

हाम्रो लोगो

हाम्रो लोगो

नयाँ कार्य समीतिलाई बधाइ दिंदै समाजका निवर्तमान पदाधिकारीहरु

नयाँ कार्य समीतिलाई बधाइ दिंदै समाजका निवर्तमान पदाधिकारीहरु

बिध्यार्थीहरु सांस्कृतिक कार्यक्रममा सहभागि हुँदै

बिध्यार्थीहरु सांस्कृतिक कार्यक्रममा सहभागि हुँदै

बिध्यार्थी पुरष्कृत गरिदै

बिध्यार्थी पुरष्कृत गरिदै

माध्यमिक विद्यालय कलिला सिक्ने उमेरका विद्यार्थीहरूलाई ज्ञान, सीप र संस्कार प्रदान गर्ने महत्वपूर्ण थलो हो । विद्यालय शिक्षाले व्यक्तिलाई अघि बढ्न विभिन्न क्षेत्रमा वृत्ति विकासको द्वार खोली दिन्छ । ज्ञानलाई प्रमाणपत्रका ठेली र जीवन चलाउने साधनको रूपमा मात्र लिन सकिँदैन । त्यहाँको भूगोलले प्रदान गरेको ज्ञान, सामाजिक रीतिरिवाजले प्रदान गरेको ज्ञान, स्थानीय वातावरणले प्रदान गरेको ज्ञान, नजाने अन्य कैयन यस्ता वस्तुस्थितिले प्रदान गरेको ज्ञान, सीप र आदतले व्यक्तिका प्रतिभा प्रस्फुटन र व्यक्तित्व निर्माणमा अहम भूमिका खेलेका हुन्छन् । हुर्कँदै गरेका विद्यार्थीलाई विद्यालयले पहिचान दिलाइरहेको हुन्छ जसलाई जीवनका धेरै क्षणहरूमा कुनै न कुनै किसिमले अनुभव गरिन्छ । यसैले संगठित रूपमा ज्ञानको ढोका प्रवेश गराएको विद्यालयप्रति जो कोही अनुग्रहित हुन्छ नै । तर समय र सामाजिक परिवेशले घेरिँदा चाहेर पनि हिजोका घनिष्ठ मित्रहरूबीच पनि एकआपसमा भौतिक रूपमा आवद्ध हुन कठिन हुने अवस्था हुन्छ । तथापि, स्थापित पहिचान र स्नेहले समयक्रममा अपनत्व जनाउन र सहयोगी भाव बढाउन निकै सहयोगी भूमिका खेलेको हुन्छ ।

भन्निन्छ समय र स्वास्थ्यको महत्व बितिसकेपछि बढी ज्ञात हुन्छ । विगतका अनुभव वर्तमानका पूँजी हुन सक्छन् । यी सम्बन्धका निरन्तरता र अनुभवका आदानप्रदान सामाजिक जीवनमा महत्वपूर्ण मानिन्छ । यसै सिलसिलामा वीरभक्तिमा अध्ययन गरी सकेका र देश–विदेशमा छरिएर रहेका पूर्व विद्यार्थीहरूबीच पनि एउटा मिलनको चौतारी र सुख–दुःख साट्ने मञ्चको खाँचो महसुस गरियो । वीरभक्तिको विद्यार्थी पहिचानलाई निरन्तरता दिँदै संस्थागत रूपमा जोडिँदा एकआपसको मित्रता र पहिचान अझ दरिलो बन्न सक्ने र संगठित शक्तिको समयोचित परिचालन गर्न सके यसले रचनात्मक परिणाम दिन सक्ने अभिप्रायले वीरभक्ति पूर्व विद्यार्थी समाज गठन गरिएको हो । वीरभक्ति पूर्व विद्यार्थी समाज वीरभक्ति मा.वि.मा कम्तिमा एक शैक्षिक सत्र अध्ययन गरेका र वर्तमानमा वीरभक्ति मा.वि.मा विद्यार्थी नरहेका पूर्व विद्यार्थीहरूको छाता संस्था हो ।

संस्था दर्ता त भयो, यसलाई निरन्तरता दिने र केही कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन्, तर पनि संस्थालाई सशक्त बनाउन सदस्यहरूको सार्थक सहभागिता अति आवश्यक हुन्छ । जुन विषय अझै टड्कारो रूपमा खड्कि रहेको छ । संस्थाको सांगठनिक र आर्थिक पक्ष सबल नभएसम्म उद्देश्य अनुरूपका उपलब्धिहरू हासिल हुन नसक्नु स्वाभाविक नै लाग्छ । यिनै पृष्ठभूमिमा भौतिक रूपमा नजिक रहेका हुन् वा टाढा, जहाँसुकै जुनसुकै रूपमा रहेका पूर्व विद्यार्थीहरूबीच सामाजिक सञ्जालको माध्यमबाट पनि सामिप्यता कायम गराई सूचना, विचार र सहयोगको सहज आदानप्रदान गरी रचनात्मक गतिविधिद्वारा समाजलाई सिर्जनशील बनाउने अभिप्रायले यही रूपमा भए पनि वीरभक्ति पूर्व विद्यार्थी समाजको यो वेबसाइट तयार गरिएको छ ।

हामीले यसलाई धेरैभन्दा धेरै सदस्यबीच सहज पुर्‍याउने सत्प्रयासको रूपमा लिएका छौँ । यसलाई समयअनुकूल सूचनामूलक र बोधगम्य बनाउन सदस्यहरू र सम्पूर्ण शुभेच्छुकको सुझाव एवम् साथ–सहयोग प्राप्त हुने विश्वास गरेका छौँ । समाज र वेबसाइटका सामग्रीबारे मित्रहरूको सुझाव लिन हाललाई समाजको लोगो अंकित फेसबुक पेज वा समाजका अध्यक्षको dineshtiwari21@gmail.com, वा कोषाध्यक्षको jeevanstha31@gmail.com, वा सदस्यको ranjitstha47@gmail.com इमेलमा आफ्ना प्रतिक्रिया पठाउनु हुन अनुरोध गर्दछौँ । आर्थिक सहभागिता गर्न इच्छुक मित्रहरूले वीरभक्ति पूर्व विद्यार्थी समाज, ग्लोबल आइएमई बैंक, सिउडिबार शाखा, खाता नं. ०९६०१०१०००३ मा सहयोग उपलब्ध गराउन सकिने व्यहोरा समेत अनुरोध गरिन्छ ।